ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो

  जेठ २१, २०८०

म्याग्दी, २१ जेठ : म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ ।

सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो ।

म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट दैनिकजसो भक्तजन र पर्यटक आउन थालेका स्थानीयवासी लेकबहादुर पुनले बताउनुभयो । “ऐतिहासिक, धार्मिक महत्व तथा विशेषताको प्रचारप्रसारका साथै पूर्वाधार निर्माण भएसँगै केही वर्षअघिसम्म सुनशान ताकमकोतमा अहिले चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “भक्तजन र पर्यटक नआएको दिन हँुदैन । बिदाको समयमा अझ बढी आउँछन् ।”

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि रु असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । रु १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ ।

ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हालै हनुमानको मूर्ति स्थापना र राम सीताको मन्दिर निर्माणलाई पूर्णता दिइएको छ । कोतघर परिसरमा टाढाबाट देखिने गरी हिमाल र पहाडलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न मिल्ने गरी १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ ।

धौलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले ठेकेदारले अलपत्र छाडेको राममन्दिर निर्माणलाई पूर्णता दिनुका साथै नजिकै हनुमानको मूर्ति स्थापना गरिएको जानकारी दिनुभयो । विभागले रु ४२ लाखमा ठेक्कामार्फत निर्माण सुरु गरेको राम मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो ।

“हनुमानको मूर्ति स्थापना, राम सीताको मन्दिर निर्माणलाई पूर्णता, मूर्ति खरिद गर्दा रु ३५ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो, “धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको यो योजनाका लागि स्वदेश तथा विदेशमा रहेका दाताले सहयोग गर्नुभएको छ ।”

अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग सङ्कलन गरिएको छ । दाताबाट रु २४ लाख ४० हजार सहयोग जुटेको छ । हनुमानको मूर्ति र राम मन्दिरको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारले प्रवेशद्वार निर्माण गर्नुभएको छ ।

सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताउनुभयो ।

जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । दैनिक पूजाआज हुन्छ । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिने ताकमका तेजेन्द्र थापाले बताउनुभयो ।

ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । ताकमकोतको पूर्वाधार निर्माणमा धौलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु एक करोड ५० लाख लगानी गरेका छन् ।
रासस

तपाईको प्रतिक्रिया