पाकिस्तानद्वारा दुइ सय भारतीय माझी रिहा

  जेठ १९, २०८०

इस्लामावाद, १९ जेठ : पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।

गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको थियो । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाउनुभएको छ ।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो । गत मे १५ मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय मछुवारा वाघा सीमा पार गरेर गुजरात पुगेका थिए ।

पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका छ सय ५४ जना माझीमध्ये छ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ । यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका छ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो ।
रासस

तपाईको प्रतिक्रिया