चलचित्र लेखनसँगै निर्देशनमा रङ्ग पत्रकार

  जेठ १९, २०८०

काठमाडौँ, १९ जेठ ः पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका रङ्ग पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । चलचित्रको समाचारलाई पाठकमाझ प्रस्तुत गरिरहेका ती अहिले आफैँ समाचार बनिरहेका छन् । नियमित बनिरहेको चलचित्रको तुलनामा उनीहरु फरक देखिएका छन् ।

समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामा आफ्नो पाँचौँ चलचित्र ‘नाङ्गो गाउँ’ को नेपालसँगै विश्वभर प्रदर्शनको तयारीमा हुनुहुन्छ । कलाकार दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङलगायतको अभिनय रहेको चलचित्र राजनीतिक–सामाजिक विधामा निर्माण भएको छ । “एउटै मितिमा नेपालसँगै विश्वभर चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ, यो चलचित्रसम्म आइपुग्दा झनै परिपक्क भएको महसुस भएको छ”, निर्देशक लामाले भन्नुभयो । उहाँ पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त हुनुहुन्छ ।

पत्रकार हुँदै चलचित्र लेखक बन्नुभएका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद–२’ गत वैशाखमा प्रदर्शन भयो । “प्रसादपश्चात् यसको दोस्रो शृङ्खला लेखेको हुँ, समय मिल्दा र कार्यशैली मिल्ने समूह हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भन्नुभयो । उहाँ पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ ।

लेखक पौडेलझैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामीप्यराज तिमल्सेनाले बेलाबखतमा निर्देशनको प्रस्ताव आउने गरेको बताउनुभयो । “अफर त आइरहेको हुन्छ, तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भन्नुभयो, “अहिले चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”

अर्का पत्रकार डब्बु क्षेत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त हुनुहुन्छ । अहिले चलचित्र निर्देशन गर्ने उहाँको तयारी छैन । ‘फिटकिरी’ बाट लेखन सुरू गर्नुभएका पत्रकार यज्ञश चलचित्रको कथा लेखिरहनुभएको छ । यस्तै अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसक्नुभएका पत्रकार सुव्रत आचार्य ‘टिभी सो’को तयारी गरिरहनुभएको छ । चलचित्र निर्देशन केही समय थाती राख्दै उहाँको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ ।

‘एउटा साथी’ निर्देशन गरेर निर्माणमा समेत सक्रिय लक्ष्मण सुवेदीले ‘सतीदेवी’ को छायाङ्कन सम्पन्न गर्नुभएको छ । अभिनेत्री मलिका महतले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्रमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, सुजिता शिवाकोटीलगायतले अभिनय गर्नुभएको छ ।

पत्रकार फूलमान वलले निर्देशन गर्नुभएको चलचित्र ‘नीरफूल’ जेठ २६ मा प्रदर्शन हुँदैछ । “भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्य पुर्नमिलनका लागि गरेको प्रयत्नमा आधारित छ”, निर्देशक वलले भन्नुभयो ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ । (रासस)

तपाईको प्रतिक्रिया