काठमाडौँ, १८ जेठ : राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा आज निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा उहाँको निधन भएको हो । मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका प्रधानले प्रजातन्त्र पुनःस्थापना भएपछि राससको अध्यक्ष एवं महाप्रवन्धकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
एक समय ‘नयाँ नेपाल दैनिक पत्रिका’को सम्पादकसमेत रहनु भएका प्रधानले अन्नपूर्ण पोष्ट दैनिकको प्रधानसम्पादकको रुपमा पनि भूमिका निर्वाह गर्नुभएको थियो । राससको स्थापनापछिका प्रारम्भिक दिनहरूमा उहाँ सम्पादक हुनुहुन्थ्यो । साथै, उहाँ गोरखापत्र संस्थानको महाप्रवन्धकको जिम्मेवारीमा पनि रहनुभएको थियो ।
काठमाडौँको किलागल निवासी प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँका दुई छोरी, एक छोरा र श्रीमति हुनुहुन्छ ।