कफीमा सेतो गवारो र छहारीको समस्या

  जेठ १८, २०८०

तम्घास, १८ जेठ : गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् ।

कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । “तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ”, मदाने गाउँपालिका-३ सिर्सेनीका कफी कृषक नारायण अर्यालले भन्नुभयो, “गवारो बढी हुँदा र छहारी नहुँदा समस्या परेको छ ।”

अर्का किसान दमन्ता अर्यालले बिरुवामा किरा लाग्ने, बिरुवा मर्ने जस्ता समस्या देखिएको बताउनुभयो । कफीमा पहिले सानो जाली लगाएको र अहिले ठूलो लगाए पनि बिरुवाका मुन्टा भाँचिने समस्या भएको अर्यालको भनाइ छ । “सानैमा बिरुवा मर्ने समस्या भयो, बाँचेका केही बिरुवा अहिले हुर्कंदै छन्”, अर्यालले भन्नुभयो, “पानी, मल र छहारी भएमा कफी उत्पादनमा वृद्धि हुने थियो ।”

सिर्सेनी लाम्पाटाका किसान प्रेम अर्यालले छहारी नहुँदा घामबाट र चिसोबाट विभिन्न प्रकारका रोग लागेको बताउनुभयो । त्यस्तै उहाँले कफीका मुन्टा भाँचिने, असिना र शितबाट पनि कफीका बिरुवालाई असर गर्ने हुँदा अनिवार्यरुपमा छहारी आवश्यक पर्ने बताउनुभयो । राज्यले छहारीका लागि गुणस्तरीय टनेलको व्यवस्था गरिदिए कफी उत्पादनमा वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।

कफीका लागि प्रसिद्ध जिल्ला गुल्मीमा यसको उत्पादन, उत्पादन गर्ने क्षेत्रफल र आबद्ध कृषक पनि बर्सेनि बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा एक हजार छ सय ४५ कृषकले एक सय ८२ हेक्टर क्षेत्रलफलमा कफी लगाउँदा २४ मेट्रिकटन उत्पादन भएको थियो । आव २०७७÷७८ मा एक हजार छ सय ९५ कृषकले दुई सय पाँच हेक्टरमा गरेको कफी खेतीबाट २५ मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।

त्यसैगरी आव २०७८/७९ मा एक हजार सात सय ४० कृषकले दुई सय २५ हेक्टर क्षेत्रफलमा गरेको खेतीबाट २८ मेट्रिकटन कफी उत्पादन भएको थियो । चालु आवमा ३० मेट्रिकटन कफी उत्पादन हुने कार्यालयको अनुमान छ । चालु आवमा दुई सय ४१ हेक्टरमा एक हजार आठ सय पाँच कृषकले कफी खेती गरेको कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिनुभयो ।
रासस

तपाईको प्रतिक्रिया