आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

  जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले महिला आरोहीको साहस र आँटको प्रशंसा गर्नुभयो ।

उहाँले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिलाआरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पु¥याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गर्नुभयो ।

सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पु¥याउने सङ्कल्प लिनुभएको थियो । अन्य साना कुनै पनि चुचुरो नचढी उहाँले एकै पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताउनुभयो ।

कार्यक्रममा सङ्खुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया