पोखरामा ‘साहसिक पर्यटन’ सम्बन्धी तस्बिर प्रदर्शनी सुरु

  जेठ १६, २०८०

गण्डकी, १६ जेठ : पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ । यहाँ आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट–२०२३ को अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले तस्बिर प्रदर्शनी आयोजना गरेको हो ।

होटल पोखरा ग्राण्डमा आयोजित उक्त प्रदर्शनीको माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले शुभारम्भ गर्नुभयो । प्रदर्शनीको उद्घाटनपछि माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले तस्बिर हेरेपछि पूरै नेपाल घुमेको अनभूति भएको बताउनुभयो । नेपाली फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्बिर हेर्न पाउँदा खुसी लागेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँसँगै सम्मेलनमा भाग लिन आएका विशिष्ट विदेशी पाहुनाले प्रदर्शनीको अवलोकन गरेका थिए । तस्बिर प्रदर्शनी चारदिनसम्म चल्ने ‘एनएफपिजे’का केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिनुभयो । प्रदर्शनीमा ३० नेपाली फोटो पत्रकारले खिचेका साहसिक पर्यटनसँग सम्बन्धित ६० भन्दा बढी तस्बिर राखिएको छ । पाटा शिखर सम्मेलन र एडभेञ्चर ट्राभल मार्टमा आउने देश विदेशका पाहुनालाई नेपाल चिनाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको ‘एनएफपिजे’ले जनाएको छ ।

‘पाटा’ एसिया–प्रशान्त क्षेत्रका पर्यटन तथा ट्राभल सङ्घसंस्थाको छाता संस्था हो । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको आयोजनामा नेपालमा पहिलोपटक उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न २२ देशका एक सय ६० जना क्रेता र बिक्रेतासहित झण्डै दुई सय ५० जनाको सहभागिता रहने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताउनुभयो ।

माल्दिभ्सका पर्यटन मन्त्रीसहित सात देशका पर्यटन हेर्ने निकायका उच्च पदाधिकारीले पनि शिखर सम्मेलनमा भाग लिने जनाइएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक सम्मेलन आयोजना गर्ने अवसर पाएको हो । एडभेञ्चर ट्राभल मार्ट भने यसअघि पनि नेपालमा हुँदै आएको थियो । सो कार्यक्रमले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन र कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न टेवा पुग्ने विश्वास लिइएको छ ।

पर्यटनमा ख्याति कमाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञ तथा वक्ताको दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक तथा पर्वतीय पर्यटनलगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ । वार्षिक सम्मेलनसहित, पाटाको बोर्ड बैठक पनि सञ्चालन हुने पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताउनुभयो ।

“पोखरालाई केन्द्र बनाएर नेपालमै पहिलोपटक पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुँदैछ”, उहाँले भन्नुभयो, “यसबाट नेपाल घुम्नै पर्ने गन्तव्यका रुपमा विश्वभर प्रसारित हुन्छ, पोखरा सुरक्षित छ भन्ने सन्देश बाहिर जान्छ ।”

कोभिड–१९ पछिको पर्यटन र पर्यटन व्यवसायको प्रवर्द्धनका विभिन्न आयामबारे समूहगत छलफल तथा ‘बीटुबी’ कार्यक्रम पनि सञ्चालन हुनेछ । पाटा शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्टको आज साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुहुनेछ । (रासस)

तपाईको प्रतिक्रिया