आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

  जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

सोह्रोँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उहाँले पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण सुरुआती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको र विश्वभरिबाट आरोहीको सङ्ख्यासमेत बढ्दै जाँदा सगरमाथामा मानवीय दबाब थपिँदै गएको अनुभव भएको उल्लेख गर्नुभएको छ ।

“प्रकृतिप्रदत्त अमूल्य सम्पदाका रूपमा रहेको सगरमाथासँगै हिमालको स्वच्छता कायम राखी प्रकृति र वातावरण संरक्षणमा विश्वसमुदायसँग मिलेर काम गर्न दिवसले हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

विश्वको तेस्रो मानिने हिमाली क्षेत्रमा आज जलवायु परिवर्तनको प्रत्यक्ष असर देखा परिरहेको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिउँ पग्लिनेक्रम बढ्न गई हिमाल ‘काला पत्थर’मा परिणत हुँदै गरेको, हिमताल विस्फोटको जोखिम बढेको, वर्षात्को प्रवृत्तिमा परिवर्तन भई अनावृष्टि, अतिवृष्टिका साथै बाढी र पहिरालगायतका प्राकृतिक विपद्को सामना गर्नु परिरहेको उहाँको सन्देशमा जनाइएको छ ।

संसारकै सबभन्दा अग्लो शिखर सगरमाथाको पहिलो आरोहण एक ऐतिहासिक घटना भएको र त्यसले नेपाललाई ‘सगरमाथाको देश’का रूपमा विश्वभर ख्याति तथा पहिचान दिलाएको उल्लेख गर्दै उहाँले त्यसयता पर्वतारोहणमा रुचि राख्ने संसारभरिका साहसी पर्यटकका लागि सगरमाथा सपनाको गन्तव्य बनेको र देशको पर्यटन उद्योगको प्रवद्र्धन तथा विकासमा उल्लेखनीय योगदान पुगेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङल्हामु शेर्पाको स्मरण गर्दै हालसालै सगरमाथा आरोहण गरी विभिन्न ढङ्गले कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, हरिबहादुर बुढामगरलगायत सम्पूर्ण सगरमाथा आरोहीमा शुभकामना दिनुभएको छ ।
रासस

तपाईको प्रतिक्रिया