आठ स्रष्टालाई सम्मान र पुरस्कार

  जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गर्नुभयो ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साहित्यका आ-आफ्ना विधामा विशिष्ट योगदान गर्नुहुने तपाईँहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ । सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफैँ सम्मान बढछ ।”

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गर्नुभयो । समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो । (रासस)

तपाईको प्रतिक्रिया