ललितपुर, ८ जेठ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने बताउनुभएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो प्रतिबद्धता गर्नुभएको हो । “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन”, उहाँले भन्नुभयो, “यो संस्थालाई बलियो बनाउनका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौँ ।”
मन्त्री मोदीले संस्थाको हित र समुन्नति चाहेर दत्तचित्तका साथ काम गर्न कर्मचारीहरुलाई मन्त्री मोदीले निर्देशन दिनुभयो । “व्यक्तिको पद आवधिक कुरा हो, तर संस्था अविछिन्न रहन्छ र रहनुपर्छ, तसर्थ संस्थालाई सदैव जीवित राख्ने दीर्घकालीन सोचका साथ सबैले दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्छ”, उहाँले भन्नुभयो । (रासस)






