दीपालयमा एकीकृत प्रजनन स्वास्थ्य शिविर

  जेठ ०८, २०८०

दीपायल, ८ जेठ : दीपायलमा महिलाको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सुरु गरिएको छ ।

डोटीको दीपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाको आयोजना र नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा दीपायल सिलगढी नगरपालिका– १ तिखा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

दीपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिसिंह खड्काले स्वास्थ्य नै धन भएकाले नगरबासीको स्वास्थ्यमा पालिकाले विशेष ध्यान दिएको बताउनुभयो । शिविरमा परीक्षणका क्रममा रोग देखिएमा नलुकाइ समयमै उपचार गर्न उहाँले जोड दिनुभयो ।

शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । साथै गर्भवतीका लागि भिडियो एक्स–रे सेवा समेत उपलब्ध गराइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्काले बताउनुभयो ।

शिविरमा सुजुङ अस्पताल राजपुरमा कार्यरत डाक्टर चेतन अवस्थीको नेतृत्वमा नेपाल परिवार नियोजन सङ्घ डोटीकी निम्ति प्रमुख कृष्णा साउद, जिल्ला अस्पतालमा कार्यरत मीना बम र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्झना पछाइ, राजेश मालासीको टीमले शिविरमा सेवा दिँदैआएको छ ।
रासस

तपाईको प्रतिक्रिया