राष्ट्रिय उद्यान महासङ्घ गठन, अध्यक्षमा खेमप्रसाद लुइँटेल

  जेठ ०८, २०८०

लुम्बिनी, ८ जेठ : देशभरका उद्यान (पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ ।

महासङ्घको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन हुनुभएको छ । राष्ट्रिय सम्मेलन आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष बेलप्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

नेपालमै पहिलोपटक आयोजना भएको उद्यानको राष्ट्रिय सम्मेलनबाट गठित महासङ्घको उपाध्यक्षमा रघुनाथ खुलाल मकवानपुर र मिना श्रेष्ठ रुपन्देही चयन हुनुभएको छ । यस्तै सचिवमा लक्ष्मीप्रसाद खनाल सुनसरी र कोेषाध्यक्षमा सुनिता शर्मा पाल्पा चयन हुनुभएको छ ।
महासङ्घको सदस्यमा विष्णुमाया आचार्य, टङ्क बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन हुनुभएको छ ।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताउनुभयो । मणिमुकुन्दसेन उद्यान बुटवल र शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया