विराटनगर, ५ जेठ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यालय तहदेखि नै विपद्का विषयमा जानकारी दिनुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी बल कङ्कालिनी गण हेडक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद् प्रतिकार्य अभ्यास समारोहलाई आज सम्बोधन गर्दै उहाँले विद्यालय तहदेखि नै विपद् रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार व्यक्त गर्नुभयो ।
“थुप्रै देशमा १८ वर्ष पुगेका नागरिकले अनिवार्यरूपमा सैनिक तालिम लिनुपर्ने व्यवस्था छ”, उहाँले भन्नुभयो, “हाम्रो देशमा पनि विपद्बाट हुने जोखिम न्यूनीकरणका उपायहरु समेटेर सचेतना दिन सके केही हदसम्म क्षतिलाई कम गर्न सकिन्छ ।” विराटनगर महानगरपालिकाले पनि बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि काम गरिरहेको उहाँको भनाइ थियो । महानगर र सशस्त्र प्रहरीबीच सहकार्य गरेर विपद् न्यूनीकरणका लागि काम गर्न सकिने भन्दै प्रमुख कोइरालाले महानगरले डुबान समस्या कम गर्न हिउँदमै धेरैजसो नाला सफा गरिसकेको जानकारी दिनुभयो ।
उहाँले बुढीखोला, केसलिया र सिङ्घीयामा तटबन्ध नबाँधेसम्म डुबान समस्याको दीर्घकालीन समाधान नहुने जिकिर गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मोरङ विपद्का हिसाबले उच्च जोखिममा रहेको छ भन्नुभयो ।
सशस्त्र प्रहरीको कङ्कालिनी बहारा बाहिनीका प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकालाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिनुभयो । उहाँले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको र भविष्यमा एक सय गोतखोर सङ्ख्या बनाएर प्रत्येक प्रदेशमा १०–१० व्यवस्थापन गर्ने सरकारको योजना रहेको सुनाउनुभयो ।
कङ्कालिनी गणका प्रमुख एसपी तीर्थकुमार थापा र बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिनुभएको थियो । (रासस)