पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

  जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिनुभयो ।

युरोपेली सङ्घ ९इयू० ले नेपाललाई विगत ११ वर्षदेखि हवाई सुरक्षा सूचिमा राखेको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो ।

सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को गम्भीर सुरक्षा चासो ९एसएससी०को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।
नेपालले हवाई सूरक्षामा गरेको प्रगतिलाई लिएर इयूसँग प्रतिवन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको पछिल्लो ‘अडिट’ले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ ।

उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७० दशमलव एक प्रतिशत अङ्क प्राप्त गरेको छ जुन एशिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा सिधा उडानका लागि प्रक्रिया थालेको सन्दर्भमा यो भेटलाई निकै चासोका साथ हेरिएको छ । वायुसेवा निगमले बेलायतको लण्डनमा विगतमा सिधा उडान गरेको थियो । रासस

तपाईको प्रतिक्रिया