काठमाडौं,२ जेठ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप नै नलागेकालाई दोषी बनाउने कार्य भएको बताउनु भएको छ । अर्थमन्त्रीसमेत रहनु भएका प्रवक्ता महतले दोषी नछुटून र निर्दोष नपरुन् भन्नेमा कांग्रेसको स्पष्ट धारणा रहेको छ भन्नुभयो ।
मङ्गलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै प्रवक्ता महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली कांग्रेस पार्टीले सहयोग गर्ने बताउनुभयो ।
उहाँले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताउनु भयो । उहाँले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उहाँको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाणको मुद्दा फरक रहेको दाबी गर्दै एउटैमा जोड्न नमिल्ने धारणा राख्नुभयो । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउँछ भन्नुभयो ।
प्रवक्ता महतले भन्नुभयो, ‘‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडि बढोस् । यसमा पार्टीको पूरा सहयोग हुन्छ । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुप¥यो । निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन । दोषी निर्दोष हुने अवस्था पनि आउनु भएन । त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ । त्यसमा पुरापुरा सहयोग हामी गर्छौं ।’’
उहाँले काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा। आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।
प्रवक्ता महतले भन्नुभयो, ‘‘सामाजिक सञ्जालको ट्रायल भइरहेको छ । डा। आरजु राणाको विषयलाई लिएर उहाँ आफैँले प्रतिरक्षा गरिरहनु भएको छ । आफैँले साइबर ब्युरोमा गएर यो नक्कली कुरा हो । यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ । भनेपछि पहिला नै न उहाँ आरोपी हो न त्यसको कुनै प्रमाणिकता छ । यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भनेजस्तो गर्नु भएन नि १ यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो ।’’
एक प्रश्नको जवाफमा उहाँले पार्टी सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी छानबिनका निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहनु भएको बताउनु भयो । घटनामा संलग्नहरु दोषी प्रमाणित भएमा कानूनी प्रक्रिया अनुसार अगाडि बढ्ने उहाँको भनाइ छ ।
अर्को एक जिज्ञासामा प्रवक्ता महतले पार्टीको विशेष महाधिवेशनको कुनै गुन्जायस नभएको स्पष्ट पार्नुभयो ।






