सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

  जेठ ०२, २०८०

सिन्धुली, २ जेठ : सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ ।

जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन् । कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पशुमा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म सुनकोसी गाउँपालिकामा भने कार्पस भाइरसको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो ।

सबैभन्दा बढी यस रोगको सङ्क्रमण तीनपाटन गाउँपालिकामा छ । रोगको सङ्क्रमण हुने र मर्नेको सङ्ख्या तीनपाटन गाउँपालिकामा अत्यधिक छ । तीनपाटनमा हालसम्म २३ गाई मरेका छन् । दुई हजार तीन सय ३६ पशु सङ्क्रमित बनेका छन् । विशेषगरी गाईमा यो रोगको सङ्क्रमण बढी देखिएको थापाले जानकारी दिनुभयो । रोगका कारण आठ हजार दुई सय ६२ पशु बिरामी भएका छन् ।

कमलामाईमा एक हजार नौ सय ८३ पशु कार्पस भाइरसबाट सङ्क्रमित छन् भने सातवटा मरेका छन् । दुधौलीमा दुई हजार एक सय ४९ पशु सङ्क्रमित छन् । मरिणमा सङ्क्रमित एक हजार ३६ र दुई पशु मरेका छन् । फिक्कलमा एक सय ६० पशुमा सङ्क्रमण छ भने एउटा मरेको थापाले जानकारी दिनुभयो । गोलञ्जोरमा तीन सय ३५ पशुमा सङ्क्रमण र नौवटा पशुको मृत्यु भएको छ । हरिहरपुरगढीमा दुई सय १६ पशुमा सङ्क्रमण र एकको मृत्यु भएको छ । यस्तै घ्याङलेखमा ४७ पशुमा सङ्क्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया