काभ्रेको कालढुङ्गामा ठुलो दुर्घटनाको जोखिम

  जेठ ०२, २०८०

कालढुङ्गा (काभ्रे), २ जेठ : आइतबार राति अचानकको वर्षाले बिपी राजमार्गको काभ्रेस्थित रोसी गाउँपालिका–११ को कालढुङ्गामा बगेर आएको गेग्य्रानले चार वटा सवारीसाधन पुरिए । मूल वर्षा सुरु नहुँदै जेठ लाग्दै गरेकै दिनको उक्त घटनामा कुनै मानवीय क्षति भने भएन । सोमबार दिउँसोदेखि यातायात पनि दुईतर्फी नै खुलिसकेको छ ।

बिपी राजमार्गको सो स्थानमा यस्तो समस्या पहिलो पटक आएको होइन । राजमार्ग निर्माणकै व्रmममा भएको प्राविधिक त्रुटिका कारण बर्सेनि यस्ता घटना भइरहन्छन् । दस वर्षमा तीन सयभन्दा बढी यस्ता घटना भइसकेका छन् । अहिलेसम्म मानवीय क्षति नभए पनि समाधान नखोज्दा कुनै समय गम्भीर दुर्घटना हुने जोखिम बढेको छ ।

यस्तै घटनामा परेका यात्रुको अनुभव पनि नमिठो छ । नमोबुद्ध नगरपालिका भकुन्डेबेँसीका अशोक खनाल २०७८ असोज १७ गते विराटनगरबाट बेहुली लिएर फर्कंदै गर्दा भ्याकुरे खोलामा आएको बाढीमा १७ घण्टा रोकिनुभएको थियो । विवाह भोजका लागि ११ बजे इस्टमित्र, आफन्त बोलाएको तर आफूहरू भने बाढीमा फसेको खनालले बताउनुभयो । “विवाहकै दिन १७ घण्टासम्म चाउचाउ र पानीको भरमा बस्नुपर्दाको तनाव र पीडा व्यक्त गर्न सकिँदैन,” उहाँले भन्नुभयो ।

उहाँ मात्र होइन वर्षा हुन थालेपछि सडक विभागले बिपी राजमार्गमा खटाएका साइट इन्चार्ज चन्द्र लामालाई पनि निकै चिन्ता लाग्छ । हरेक वर्ष भ्याकुरे, फेदी र चिउरीबासमा खोलामा गेग्य्रानसहितको लेदो बाढीले एम्बुलेन्ससमेत रोकिने गरी सडक अवरुद्ध पार्ने भएपछि उहाँ चिन्तामा पर्नुहुन्छ । दुई वर्षअघि गाडी रोकिएपछि एक महिलाले सडकमै बच्चा जन्माएको घटना उहाँ सुनाउनु हुन्छ । एक वर्षमा १५ पटकसम्म लेदो गेग्य्रानसहितको बाढी आएर सवारीसाधन जाममा पर्छन् या पुरिन्छन् ।

यात्रुको उद्धार भने सजिलै गर्न सकिन्छ तर गाडी भने निकाल्न सकिँदैन । दलदलमा फसेका जनावरको जस्तै हालत गाडीको हुन्छ । दस वर्षमा तीन सयभन्दा बढी पटक यस्ता घटना भएका छन् । मानिसलाई उद्धार गर्न सकेकोमा भने लामा खुुसी नै हुनुहुन्छ ।बाढी आउन थालेपछि गाडीका टायर ‘लक’ भइहाल्छन् । त्यसपछि विस्तारै त्यसको सतह बढ्छ । विस्तारै ढुङ्गा, माटो र लेदोको मिश्रण ढलान गर्न तयार पारिएको बालुवा, गिट्टी र सिमेन्टको मिश्रण जस्तै हुन्छ । प्रायजसो असार, साउन र भदौमा दुःख दिने खोलाले कहिलेकाहीँ चैतदेखि नै दुःख दिने गरेको लामाको अनुभव छ ।

२०७८ चैत ३० गतेको बाढीले तीन दिनसम्म सडक अवरोध पारेको थियो भने दर्जनौँ सवारीसाधन पुरिएका थिए । त्यसबेला गाउँपालिकाले यात्रुका लागि खानेपानी र खानेकुराको व्यवस्थापन गरिदिएको थियोे । रोसी गाउँपालिकामा पर्ने सो स्थानमा बाढी आएपछि धेरै रात नसुतेर उद्धार कार्यमा खटेको अनुभव गाउँपालिकाका पूर्वअध्यक्ष डिबी लामाको पनि छ । राति सयौँ यात्रु अलपत्र परेको सूचना आउँदा डोजर लिएर उद्धारको कार्यमा खट्ने गरेको बताउँदै उहाँले यात्रुका लागि कम्तीमा पानी र चाउचाउको जोहो गरिदिने गरेको सुनाउनुभयो । इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा यात्रुलाई सुरक्षित रहेको महसुस गराउन धेरै रात सडकमै बसेको उहाँले बताउनुभयो ।

मङ्गलटार क्षेत्रको समस्या राजमार्ग निर्माणको प्राविधिक भए पनि टोलटोलमा गरिएका डोजरे विकासका कारण यस्ता समस्या हरेक वर्ष बढिरहेको उहाँले बताउनुभयो । आफू अध्यक्ष हुँदा धेरैजसो माग सडकको आउँदा आफूले पनि त्यसैमा बजेट विनियोजन गरेको तर अहिले त्यही कारणले राजमार्ग नै अवरुद्ध हुने थाहा पाएपछि नराम्रो लागेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले सडकभन्दा माथिल्लो भागमा अन्धाधुन्ध प्रयोग भएको डोजरले माटो खुकुलो बनाएको र त्यसकै असरका रूपमा गेग्य्रानसहितको बाढी आएको बताउनुभयो । यो समस्याको दीर्घकालीन समाधान खोज्न ढिला भएको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, बनेपाका प्रमुख सुरेश थापाले हरेक वर्ष बिपी राजमार्गमा आउने लेदोसहितको बाढीले ट्राफिक व्यवस्थापनमै चुनौती थपेको बताउँदै यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो । उहाँले एक वर्षमा १५ पटकसम्म बाढीले सडक अवरोध पारेको बताउनुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा बाढीका कारणबाट हुने समस्या समाधानका लागि जाइकाका प्रतिनिधि र सडक विभागका प्रतिनिधिले पटक पटक अनुगमन गरेको छ । रोसीको माथिल्लो भागबाट आउने भेलको वैकल्पिक निकासको ठाउँ नभएकाले कसरी समस्या समाधान गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको सडक विभागअन्तर्गत बनेपा–बर्दिबास सडक आयोजनाका प्रमुख राजेन्द्रमान दासले जानकारी दिनुभयो ।

अहिले यो निकै ठुलो समस्या भएकाले जाइकासहितको टोलीले अध्ययन थालेको जानकारी उहाँले दिनुभयो । (गोरखापत्र)

तपाईको प्रतिक्रिया