सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

  जेठ ०१, २०८०

भजनी, १ जेठ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ ।

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उहाँले भन्नुभयो, “सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।”

उहाँले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताउनुभएको छ । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हाल्नु भएको छ । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

सो अवसरमा उहाँले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो ।

“नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन”, मुख्यमन्त्री शाहले भन्नुभयो, “त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।” उहाँले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया