काठमाडौँ, १ जेठ : नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो ।
सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क ओपिडीमा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उहाँले बतउनुभयो ।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू नौ सय ४० देखि रू चार सय २० सम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बिडिएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू पाँच सय १५ तोकिएको छ ।






