पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

  जेठ ०१, २०८०

कर्णाली, १ जेठ : तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ ।

तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । लाखौँको सङ्ख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिनुभयो ।

“तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्”, शाखा प्रमुख नेपालीले भन्नुभयो, “तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।” जुम्ला ‘अर्गानिक’ जिल्ला घोषणा भइसकेकाले विषादी छर्न नपाइने हुँदा टेन्ट क्याटरपिलार कसरी देखियो भन्ने कुरा गाह्रो भएको उहाँले बताउनुभयो ।

उत्पादन पहिले भएको तर क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि लाखौँको सङ्ख्यामा अहिले वृद्धि भएको शाखा प्रमुख नेपालीले बताउनुभयो । यसले स्याउको बोक्रामा घर लगाएर बसेको जनाउँदै उहाँले जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताउनुभयो ।

तरापीमा लगाइएको ठूलो सङ्ख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया