आङटावाको अपराध : पहिला नक्कली तिब्बती शरणार्थी बनाए, अहिले नक्कली भुटानीमा कमाए

  बैशाख ३१, २०८०

 

काठमाडौं, ३१ वैशाख : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा यस प्रकरणमा तानिएका हुन्।

आङटावाको नाममा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण जोगाउन लागिपरेका उनको शरणार्थी प्रकरणमा कनेक्सन भेटिएपछि प्रहरीले आइतवार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गराएको छ। आङटावाले हिरासत पुगेका केशव दुलाल र सानु भण्डारीसँग पटकपटक भेटेको खुलेपछि प्रहरीले उनको कनेक्सन खोजी गरेको हो। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले दुलाल र भण्डारीसहित टंक गुरुङलाई पक्राउ गरी चैत १२ सार्वजनिक गरेको थियो। शेर्पाले हिरासतमा रहेका दुलाल र भण्डारीलाई भेट्नुका साथै खाणले बुझेको रकम पीडितलाई फिर्ता दिने आश्वासन समेत दिएको प्रहरी स्रोतको दावी छ। देउवा निकट आङटावा खाणसँग नजिक रहेर विभिन्न व्यवसायमा संलग्न रहँदै आएको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

खाणलाई केशव दुलालमार्फत १ करोड २५ लाख रकम बुझाएको प्रहरीको दाबी छ। रामेछाप गोकुलगंगा गाउँपालिका – १, चुचुरेका शेर्पा २०७० को संविधानसभा निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए।

निर्माण व्यवसायीसमेत रहेका आङटावाको रामेछापका विभिन्न हाइड्रोमा समेत लगानीछ। ‘रामेछाप शेर्पा कन्स्ट्रक्सन’ का सञ्चालक समेत रहेका उनी अहिले कांग्रेस महाधिवेशन प्रतिधिनि हुन्। आङटावाको कनेक्सन भुटानी शरणार्थीमा मात्र नरोकिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

देउवासँग निकट सम्बन्ध राख्दा रामेछापमा शेर्पाले तिब्बती शरणार्थी कोटामा अमेरिका पठाउने गरेको उनी निकटले खुलाएका छन्।

६२–६३ सालमा एक जनाको ८ लाखसम्म लिएर टिब्टेन रिफ्युजीका रुपमा अमेरिका पठाउँने गरेको रामेछापका कांग्रेस नेताहरु बताउँछन् । आङटेवाको आँडमा त्यसबेला रामेछापका शेर्पाहरु अप्रत्यासित हिसाबले अमेरिका छिरेको उनीहरुको भनाई छ ।

नेपालीलाई अमेरिका पठाउन सक्ने हर्ताकर्ताका रुपमा समेत आङटावालाई स्थानीयले लिने गर्थे। त्यहीबेलादेखि आङटावा रामेछापमा एकाएक उदाएको स्थानीय नेताहरु बताउँछन्। २०४९ मा जिल्ला विकास समिति रामेछापको उपसभापति भएका उनी पछिल्लो प्रकरणमा तिब्बती शरणार्थी पठाएको अनुभवका आधारमा जोडिएको हुनसक्ने ती स्थानीय बताउँछन्। अनुसन्धानमा तानिएपछि आङटावा अहिले सम्पर्कविहीन छन्।

यस प्रकरणमा अहिलेसम्म प्रहरीले बहालवाल सचिव टेकनारायण पाण्डे, रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका डा इन्द्रजीत राई लगायत गरेर १२ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले जिल्ला अदलत काठमाडौंबाट संगठित अपराधमा म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ। अबको १० दिनभित्र प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाउने छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुमा अनुसन्धान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने प्रकरणमा समेत अनुसन्धान गरेको थियो। गएको चैत ५ गते प्रहरीले केही अभियुक्तलाई पक्राउ गरेर घटनाको सार्वजनिक गरेको थियो। झापाका कृष्णबहादुर कटुवाल, भक्तपुरका न्युल्केस श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोसाङ र ललितपुरका विजय लामालाई पक्राउ गरेको थियो। उनीहरुले सरकरी कागज कीर्ते गरेर काम गरेको देखिएको थियो। यस्तो काम गरेवापत तीन देखि ५ लाख रुपैयाँ बुझ्ने गरेको देखिन्छ।

प्रकाउ परेका शेर्पा पनि तिब्बेतियन प्रकरणमा पनि जोडिएका छन्। त्यसो त हिरासतमा रहेका बालकृष्ण खाण माथि यसमाथि पनि आरोप लागेको छ। तर, स्वतन्त्र रुपमा खाणको तिब्बती कनेक्सन भने भेटिएको छैन। शेर्पा समातिए भने खाँण यसमा समेत तानिन सक्छन्।

तपाईको प्रतिक्रिया