गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन

  बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट रु ६७ लाख सहयोग सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा रु उक्त रकम सङ्कलन भएको हो । महायज्ञमा रु २१ लाख खर्च भएको थियो ।

बेवारिसे गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले वैशाख २२ देखि २८ गतेसम्म आयोजना गरिएको महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहप्रद उपस्थिति रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि नेपालकै इतिहासमा पहिलो पटक आयोजना यस महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुभएको उहाँले बताउनुभयो ।
बेवारिसे गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया