काठमाडौँ, ३० वैशाख : कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक भएको छ ।
काठमाडौँको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निवन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले सङ्ग्रहको विमोचन गर्नुभयो ।
कार्यक्रममा कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताउनुभयो । “पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन् । त्यसमध्ये देवव्रत पुगेका छन् । यो सङ्ग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन् । कतिपय कविता पढ्दा इष्र्या पनि लाग्यो”, उहाँले भन्नुभयो, “उनका प्रत्येक कविता पढ्दा सङ्गीत गुन्गुनाएजस्तो छ ।”
निवन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलिजस्तै बिलाइजाने पानीको थोपाजस्ता नभएको बताउनुभयो । “देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहरजस्तो छ”, सापकोटाले भन्नुभयो ।
देवव्रतका कवितामा हजारौँ वर्षदेखिको पुरानो घाउ, मधेसका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताउनुभयो । कार्यक्रममा देवव्रतका शीर्ष कविता वाचन गर्नुभयो । सङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।