काठमाडौँ, २२ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्धले दिएको सन्देशको पूर्ण पालना हुने सकेमात्र विश्व शान्ति कायम हुने बताउनुभएको छ ।
२५६७औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बुद्धको मध्यमार्गअनुसार शस्त्रअस्त्रको व्यापार, मानवबेचबिखन तथा विश्वव्यापार गर्नु पूर्णतः मिथ्या अजिविका हो भन्ने सन्देशलाई सम्पूर्ण क्षेत्रबाट आत्मसात् गर्न सके विश्व शान्ति कायम गर्न कुनै दुविधा हुने छैन । सकारात्मक ऊर्जाको विकास हुँदै जाने छ ।”
बुद्धले अगाडि सार्नुभएको पञ्चशीलको सिद्धान्तको पालनाले हाम्रो घर, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय जतगलाई सकारात्मक बाटोमा अभिप्रेरित गरिरहेको उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले विश्व जगतमा व्याप्त हिंसा, आतङ्क, प्राणघातक नशालु पदार्थको प्रयोगको पूर्ण रोकथामका लागि बुद्धको उपदेशलाई दिनानुदिन प्रचारप्रसार गरेर लैजानु सबैका लागि सुखद् विषय भएको बताउनुभयो ।
“नेपाल एक स्वतन्त्र अभिभाज्य, सार्वभौम सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, छुवाछूतमुक्त, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा अगाडि बढेको छ । यो ऐतिहासिक उपलब्धि हो, यसलाई कसैले बिर्सन हुँदैन”, उहाँले भन्नुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालमा दिगो सुख शान्तिसँगै समुन्नत राष्ट्र निर्माण गर्नेतर्फ आजको सङ्क्रमणकालीन अवस्थामा सम्बद्ध सबै पक्ष सुधारिएर लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध भई सहमति प्रणाली अङ्गालेर व्यवहारत परिवर्तन हुन सके राष्ट्रलाई तार्किक निष्कर्षमा पु¥याउन सकिने बताउनुभयो ।
“त्यसलाई आत्मसात् गर्न स्वस्थ्य मानसिकताको विकास गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको विकास गर्नु नै आजको आवश्यकता हो । यसलाई सबैले हृदयङ्गम गर्नुपर्छ”, उपराष्ट्रपतिले भन्नुभयो । रासस






