यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

  बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज यहाँ एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय ९जेठ १८ देखि असोज १३गते० को हावापानी आकलन प्रक्षेपण गरेको हो ।

विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ । यसै सिलसिलामा विभागले आज सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनको जानकारी गराएको छ ।

आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । रासस

तपाईको प्रतिक्रिया