स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

  बैशाख २१, २०८०

जलेश्वर, २१ वैशाख : मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ ।

करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा खरिद गरिएका भेन्टिलेटर, मोनिटर, इको तथा सघन उपचारका उपकरण प्रयोगविहीन अवस्थामा रहँदा पनि सञ्चालनका लागि कुनै पहल नभएको नगरवासीको गुनासो छ ।

आव २०७७÷०७८ मा कोरोना नियन्त्रणका लागि पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इको र सघन उपचारका उपकरण खरिद गरी ५० श्ययाकोे कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरिएको थियो ।

कोरोना नियन्त्रणका लागि विगत तीन वर्षअघि विभिन्न शीर्षकमा गरी रु १० करोडभन्दा बढी खर्च गरिए पनि महामारीका बेलामा भेन्टिलेटर र सघन उपचारकक्ष सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर अस्पतालले ती उपकरण प्रयोगमा ल्याउन सकेको थिएन ।

तीन वर्षदेखि प्रयोगविहीन बनेका उपकरणको ग्यारेन्टी र वारेन्टी पनि उपकरण थन्काइएका अवस्थामा नै सकिसकेको छ । जलेश्वर नगरपालिका–२ का लोसपा नेपाल नेता शिवचन्द्र चौधरीले ‘रेफर’ अस्पतालको रूपमा परिचित यस अस्पताल अहिले प्रादेशिक अस्पतालमा परिणत भइसक्दा पनि सरोकारबाला निकायको बेवास्ता र लापर्बाहीका कारण यसकोे सेवास्तर झन खस्किँदै गइरहेको आरोप लगाउनुभयो ।

स्थानीय नेकपा९माओवादी०का नेता मनोज साहले प्रदेशस्तरको यस अस्पतालमा सरकारले तोकेको निःशुल्क औषधिसमेत रोगीले नपाइरहेको गुनासो गर्नुभयो भने अर्का युवा नेता नवीन पाण्डेले पनि नेपाल सरकारले सरकारी अस्पतालमा ७० किसिमको औषधि रोगीका लागि निःशुल्क गरे पनि औषधि व्यवसायी र चिकित्सकको कमिसनका कारण अस्पतालमा रहेको समान्य औषधिसमेत रोगीले नपाइरहेको आरोप लगाउनुभयो ।

उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजले यत्रो ठूलो अस्पतालमा आफू एक्ली स्थायी चिकित्सक रहेको र सबै क्षेत्र एक्लैले हेर्न नभ्याउँदा अस्थायी र करारको कर्मचारीबाट अस्पताल चलाइरहेको बताउनुभयो ।

उहाँले अस्पतालमा बाहिर चर्चा गरेजस्तो औषधि अभाव नरहेको र उपलब्ध औषधि बिरामीलाई वितरण गर्न कुनै कन्जुस्याइँ नभएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया