लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न

  बैशाख २१, २०८०

जनकपुरधाम, २१ वैशाख : धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा सो गाउँपालिकालाई भने कार्यान्वयन भएका योजनाको भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले गाउँपालिकामा चालु आर्थिक वर्षका करिब ८० प्रतिशत योजना कार्यान्वयन भई भुक्तानीको काम चलिरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकामा दुई सय ५२ योजनामध्ये दुई सयभन्दा बढी योजनाको काम लगभग सम्पन्न भइसकेको बताउनुभयो ।

 

वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएको बारे थप प्रष्ट्याउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले भन्नुभयो,“मध्यकालीन खर्च संरचनाअनुसार चौमासिक रुपमा प्राप्त हुने बजेट, महालेखापरीक्षकको सुझाव कार्यान्वयन र राजनीतिक रुपमा सन्तुलन मिलाएर अगाडि बढ्दा सहजरुपमा भइरहेको छ ।”

गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले ऐन, नियम र कानुनको क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिले जनसेवकका रुपमा काम गरेमा धेरैजसो समस्या समाधान हुने बताउनुभयो । “हामी जनताको सेवक भएर काम गर्नका लागि निर्वाचित भएर आएका छौँ तर व्यक्तिगत र पार्टीगत लाभ—हामी हेर्न थालेमा समस्या उत्पन्न हुन्छ । ऐन, नियम र कानुनको परिधिभित्र रहेर काम गर्ने कुरा मैले प्रशासनिक र जनप्रतिनिधिको भूमिकामा रहेका सबै साथीहरुलाई भनेको छु । विवाद आउनसक्छ तर त्यसको निदानका लागि विधि हुन्छ । त्यसैको अनुशरण गर्दा समस्या समाधानमा सहज हुन्छ”, उहाँले ,“लक्ष्मिनियाँका सबै सरोकारवालामा विकास क्रियाकलापमा अवरोध गर्नुहुँदैन भन्ने भावना विकास भएकाले पनि समयमै काम गर्न सम्भव भएको हो ।”

त्यसैगरी उहाँले करार कर्मचारीको व्यवस्थापनका सन्दर्भमा केही समय उत्पन्न भएको विवादले समस्या सिर्जना गर्न खोजे पनि सबैको समन्य र पहलपछि सो विवाद समाधानको पहल सुरु भएको र आगामी आर्थिक वर्षमा जनताले अनुभूत गर्ने गरी विकास क्रियाकलाप सञ्चालन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सात वटा वडा रहेको लक्ष्मिनियाँमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र एउटा वडामा नेपाली कांग्रेस, पाँच वडामा नेकपा९एमाले० र एउटा वडामा जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचित वडाध्यक्ष छन् । १५ सदस्यीय गाउँकार्यपालिकामा ११ एमाले, एक जना ९जसपा० र तीन जना कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।

स्पष्ट अल्पमतमा हुँदा पनि नीति, नियमको परिधिमा रहेर सबैको सल्लाह र समन्वयमा काम गरेकाले विकास गतिविधि समयमै सुरु गरी समयमै सम्पन्न गर्न टेवा पुगेको अध्यक्ष मिश्रको भनाइ छ । वडा नं चारका अध्यक्ष रमेश साहले आपसी सल्लाह र समन्वयका आधारमा काम गर्ने र देखिएका समस्या तत्काल समाधान गर्न लाग्ने गरेका कारण लक्ष्मीनियाँमा विकासले समयमै गतिलिएको बताउनुभयो । “देखिने कारणहरु अरु नै भए पनि स्थानीय तहमा हुने मुख्य विवादको जड आर्थिक पक्ष नै हो ।

पक्ष—विपक्षले बजेट परिचालन गर्न पाउने वा नपाउने विषयले नै विकासको गतिलाई प्रभावित पार्छ”, वडाध्यक्ष साहले भन्नुभयो,“तर हाम्रो अध्यक्षले त्यही कुरा बुझेर आफूले परिचालन गर्न पाउने एक करोड बराबर रकम समान रुपमा सात वटै वडाध्यक्षलाई पनि परिचालन गर्न पाउने अधिकार दिनुभएको छ । जसले गर्दा कसैले कसैमाथि गुनासो गर्ने अवस्था नै रहेन ।”

त्यसैगरी वडा नं १ का अध्यक्ष दिलीपकुमार यादवले फरक—फरक पार्टी र पक्ष–विपक्षभन्दा पनि जनतालाई केन्द्रमा राखेर काम गर्दा अरु कुरा गौण हुने बताउनुभयो । उहाँले गाउँकार्यपालिकामा आफ्नो पक्ष अर्थात एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहे पनि आफूहरुले अल्पमत, बहुमत देखाएर विकास गतिविधिमा कुनै समस्या सिर्जना नगरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया