भक्तपुर, १६ वैशाख : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताउनुभएको छ ।
मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उहाँले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताउनुभयो ।
देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दारिता हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनुभयो ।
विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव अधिकारका रुपमा स्थापित बनेको बताउनुुभयो । सबै नागरिककोमा अधिकांश सूचना पु¥याउनै नसकिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “आयोगमा नौ हजारभन्दा बढी पुनरावेदन परेको छ, अहिलेसम्म ३३ जनालाई कारबाही गरिसक्यौँ । सकेसम्म आयोगले कसैलाई सूचना नदिएकै आधारमा कारबाही गर्न नपरोस् भन्ने हो, त्यसका लागि कानुनले देऊ भनेका सूचना सहजरुपमा दिनुस् ।”
नगरपालिकाले कार्यालयको सबै निर्णयको अभिलेखीकरण राख्ने, दैनिक आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने, तीन तीन महिनामा सबै सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग्न आउनेको पनि कमी हुने उहाँको भनाइ थियो ।






