दिगो विकास लक्ष्य प्राप्तिका लागि कार्यक्रम ल्याउँछौँ : मुख्यमन्त्री कार्की

  बैशाख १५, २०८०

मोरङ, १५ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिका लागि आवश्यकपर्ने योजना र नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ ।

प्रदेश योजना आयोग र दिगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले सन् २०३० सम्म प्राप्त गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्ने सम्बन्धमा समग्र छलफल गरी वार्षिक नीति तथा बजेट निर्माण गर्ने विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “हामीले दिगो विकासको लक्ष्य प्राप्त भएपछि विकासोन्मुख र विकसित मुलुकमा प्रवेश गर्ने छौँ र यो हाम्रो लागि ठूलो अवसर हो ।” उहाँले संयुक्त राष्ट्रका सङ्घको सदस्य राष्ट्रको हैसियतले नेपाल सरकारले लिएको दिगो विकास हाशिल गर्ने प्रतिबद्धतालाई प्रदेश सरकार निर्वाह गर्नुपर्ने भूमिका एवं दायित्व पूरा गर्न सक्षम रहेको प्रष्ट पार्नुभयो ।

उहाँले आर्थिक वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर, सुशासन, खानेपानी, खाद्य सामाजिक सुरक्षा, विकास पूर्वाधार तथा गरिवी निवारणजस्ता विषयलाई प्राथमिता दिएर योजना कार्यान्वयन गरिरहेको बताउनुभयो । सङ्घीय सांसद दिगो विकास सुझाव समिति सभापति प्रकास पन्तले सन् २०३० सम्ममा नेपालमा दिगो विकास हाशिल गर्ने लक्ष्य सरकारको रहेकाले त्यो लक्ष्य पूरा गर्न प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

सङ्घीय सांसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सन् २०३० सम्म नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्त गर्न प्राप्त भएका भएका सुझाव कार्यान्वयन गर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इश्वरकुमार गिरीले प्रदेश सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको कार्यको विवरण प्रस्तुत गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया