मैथली भाषामा पाठ्यपुस्तक निर्माण

  बैशाख १४, २०८०

गोलबजार, १४ वैशाख : सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ ।

पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको नगर शिक्षा शाखाले जनाएको छ । एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ । कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रुपमा कक्षा १ मा मात्र लागू हुने नगर शिक्षा अधिकृत रामसागर यादवले बताउनुभयो ।

उहाँका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा जाने छ । “पाठ्यपुस्तक निर्माणका लागि भाषा विज्ञ तथा स्रोत शिक्षक एवं पाठ्यक्रम विकास केन्द्रका अनुभवी पाठ्यक्रम विद् तथा जनप्रतिसँग छलफल गरी तयार पारिएको छ, अब यसलाई कार्यान्वयन गरिने छ”, यादवले भन्नुभयो ।

तयार पारिएका पाठ्यक्रममा मैथली भाषाको आफ्नैै तिरुहुत लिपिको विषयवस्तु समेटिएको छ । पाठ्यक्रममा स्थानीय तहमा रहेका सांस्कृतिक पक्ष तथा प्रर्याप्त मात्रामा मैथली शब्दार्थ प्रयोग गरिएको छ । स्थानीय आवश्यकताअनुसारको विषयवस्तु भएको हुँदा सिकारुका लागि रोचक विषय हुने विश्वास स्थानीय अधिकारीले गरेका छन् ।
रासस

तपाईको प्रतिक्रिया