झापा, १३ वैशाख : झापाको मेचीनगर–१० धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । दनुवार नेपालको सीमान्तकृत जातीय समुदाय हो ।
समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले यही वैशाख १६ गते धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव गरिने बताउनुभयो । महोत्सवमा दनुवारको जातीय परिहन, कला, संस्कृति, वेषभूषा, खाना, गहनाको प्रदर्शनी हुने र दनुवार समुदायका ज्येष्ठ नागरिकको सम्मान गरिने उहाँले बताउनुभयो ।
समितिका मेचीनगर अध्यक्ष मोहन दनुवारले महोत्सवमा जिल्लाभरबाट पाँच सयभन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताउनुभयो । मुलुकका १९ जिल्लामा दनुवार समुदायको बसोबास रहेको छ । सिन्धुली तथा उदयपुरमा सबैभन्दा बढी संख्यामा दनुवार रहेका समितिका केन्द्रीय सल्लाहकार अग्निमाया मेचे दनुवारले बताउनुभयो ।






