बारा २ उपनिर्वाचन : जसपा अध्यक्ष यादवकोे अग्रता कायमै

  बैशाख १२, २०८०

वीरगञ्ज, १२ वैशाख : बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राख्नुभएको छ । कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइरहनुभएको छ ।

यस्तै नेकपा ९एमाले०का पुरुषोत्तम पौडेलले छ हजार पाँच सय एक मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार छ सय ८१ मत ल्याएर चौथो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब १३ हजार पाँच सय ९४ मत गणना गर्न बाँकी छ ।

मतगणना भइरहेको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया