राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना

  बैशाख १२, २०८०

संयुक्त राष्ट्रसङ्घ, १२ वैशाख : युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् ।

मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उनीहरूले लगाए ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशले गरेको सैन्य कारबाहीको प्रतिरक्षा गर्दै संयुक्त राज्य अमेरिका तथा उसका सहयोगीहरूले तेस्रो विश्वयुद्ध हुननदिन स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घको जग र विश्वव्यापी कूटनीतिलाई कमजोर बनाएको आरोप लगाउनुभयो ।

महासचिव गुटरेसले विश्वस्वास्थ्य संस्थाका एक सय ९३ सदस्य मुलुकबीचको सहकार्यमा जोड दिँदै दोस्रो विश्वयुद्धको विभिषिकाका बीच स्थापना भएको संयुक्त राष्ट्रसङ्घ सदस्य देशबीच सहकार्य एवम् हार्दिकता नहुँदा स्थापनाकालदेखि नै ठूलो तनावमा रहेको बताउनुभयो ।

ठूला शक्तिराष्ट्रबीचको तनाव बढ्दा विश्व दुर्घटनातर्फ उन्मुख भएको, त्यसले द्वन्द्वको जोखिम बढाएको महासचिवको कथन थियो । युक्रेन युद्धतर्फ सङ्केत गर्दै उहाँले विश्व संस्था नै तनावमा रहेको बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया