काठमाडौँ, ९ वैशाख : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताउनुभएको छ ।
पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताउनुभयो ।
युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उहाँले बताउनुभयो । विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उहाँको भनाइ थियो । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उहाँको भनाइ थियो ।
सङ्घका इञ्चार्ज दिलु पन्तले सहकारी क्षेत्रले ग्रामीण भेगका किसानलाई लक्षित गरी आर्थिक गतिविधि सञ्चालनका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताउनुभयो ।
रासस






