काठमाडौँ, ६ वैशाख ; नेपालमा आन्तरिक साजसज्जा कलाको महत्व बढ्दै गएको छ । पछिल्लो सयमा मानिसहरूले आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरलाई सज्जा कलाद्वारा आकर्षक बनाउने गरेका पाइएको यस क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’का विषयमा आज भएको छलफलका वक्ताले उक्त कलाको आवश्यकता र महत्व बढ्दै गएको तर यसलाई विज्ञानसँग फ्युजन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आफूहरू आगामी दिनमा इन्टेरियर डिजाइनरसँग गुणात्मक रुपमा नै सहभागी हुने बताउँदै कलालाई प्रतिस्पर्धा गराई त्यसबाट छानिएका उत्कृष्ट कलालाई प्रतिष्ठानले पार्क, होटल, घर, सरकारी कार्यालयमा राख्नुपर्छ भनेर सिफारिस गर्नसक्ने बताउनुभयो ।
इन्टेरियर डिजाइन अमृता श्रेष्ठले आन्तरिक सज्जा कला पौराणिक कालदेखि आएको कला बताउँदै यसलाई वास्तुकलाको एकाइको रुपमा मान्न सकिने धारणा राख्नुभयो । उहाँले आजको समयमा यसमा विज्ञान र कलालाई फ्युजन गरेर अघि बढ्न जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “घरको महत्व बढाउन, समय, पैसा सुरक्षित गर्न, आफ्नो व्यक्तित्वअनुसार घरको साजसज्जा गर्न पनि इन्टेरियर डिजाइनको महत्व बढेर गएको छ ।”
अर्का डिजाइनर स्मृति रेग्मीले आफूहरूले ग्राहकसँग मिलेर काम गरिरहेको र आगामी दिनमा ललितकला प्रज्ञा प्रतिष्ठानसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।
इन्टेरियर डिजाइनर सपना सापकोटाले अहिले आन्तरिक कला र प्राविधिक कलाको संयोजनबाटै अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कला भन्नु नै सौन्दर्य हो, कलाले नै सुन्दरता थप्छ र प्रविधिले यसलाई चम्काउन मद्दत गर्छ ।” यसमा परम्परागत कलालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
आयोजक आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले इन्टेरियर डिजाइनिङको विधाको महत्व र आवश्यकता अहिले बढ्दै गएको धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्य¬ सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले इन्टेरियर डिजाइनरको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले सहयोग गर्ने बताउनुभयो । पालिका, प्रदेश र सङ्घसँग समन्वय गरेर नीतिगत तहमै छलफल गर्नुपर्ने उहाँको जोड थियो । रासस






