कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक : मुख्यमन्त्री गिरी

  बैशाख ०५, २०८०

रामपुर पाल्पा, ५ वैशाख : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलबार पाल्पा रामपुर नगरपालिका १ र ३ मा पर्ने निस्दीखोलाको मसानेघाटमा निर्माण हुन लागेको पक्की पुलको उद्घाटन गर्दै ख्यमन्त्री गिरीले सडक, पुल, खानेपानी, सिँचाइलगायत आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा धेरै क्रान्तिकारी परिवर्तन गर्नका लागि ठोस योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नागरिकको जीवनस्तर माथि उकास्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै उहाँले प्रदेशले आफ्नो क्षेत्रका नागरिकका मागअनुसारका गौरवका योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । कृषिलाई प्राथमिकता दिएर नयाँ तरिकाबाट आधुनिक प्रविधिको प्रयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले उब्जाउ जमिनलाई सिञ्चितको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो ।

प्रदेश सरकारले केही महत्वपूर्ण योजना सुरु गरेको जानकारी दिँदै उहाँले रामपुरको बसपार्क र यससँग जोडिएका सडक र ढलको लागि हालसालै रु २४ करोड बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको महत्वपूर्ण गौरवको योजनाको रुपमा रामपुर कपुरकोट सडक राखिएको र यसलाई तीव्रता दिन यस सडकसँग सम्बन्धित जिल्लास्थित कार्यालय प्रमुखलाई आवश्यक बजेट उपलब्ध गराउने भनेर निर्देशनसमेत दिएको मुख्यमन्त्री गिरीले बताउनुभयो । रामपुरको महत्वपूर्ण सिँचाइ योजना ठाउँठाउँमा जीर्ण बनेकाले सिँचाइको मुख्य योजना नहरको विकास गर्दै सिँचाइको लागि थप बजेट व्यवस्थापन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले आफ्नो कार्य क्षेत्रका विकास निर्माणको कामलाई छिटो सम्पन्न गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले यस पुलले विकासलाई जोडेको हँुदा पुल निर्माणपश्चात् विभिन्न सामग्री ओसारपसार तथा यात्रा गर्न सहज भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार पुल निर्माण भएपछि नागरिकको जीवनस्तरमा योगदान दिनेछ । गाउँमा खाद्यान्न, कृषिजन्य सामग्री र व्यापारिक सामग्री ओसारपसार गर्न, सहजरुपमा यात्रा गर्न ठूलो सघाउ पुग्ने विश्वास लिइएको छ ।

इलाइट कन्ट्रक्सन प्रालिले २०७६ फागुन ११ गते सम्झौता गरी निर्माणको जिम्मेवारी लिएर काम सुरु गरेको छ । रु सात करोड ७३ लाख छ हजार सात सय ७१ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ ६४ दशमलव १० मिटर र चौडाइ ११ मिटर सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो । रु आठ करोड १२ लाख २५ हजार छ सय ४३ को लागतमा ठेक्का आह्वान भएको थियो ।

यस पुलबाट रामपुर नगरपालिका वडा नं १, २, ३ र निस्दी गाउँपालिका विभिन्न वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यहाँ पक्की पुल नहुँदा गाउँमा उत्पादित कृषिउपज वर्षायाममा रामपुर बजारमा ढुवानी गर्न नपाउँदा स्थानीयले निकै सास्ती खेप्दै आइरहेका थिए ।

वर्षायाममा पुल अभावकै कारण मजदुर व्यवस्थापन गरी झोलुङ्गेबाट वारीपारी सामान ओसारपसार गर्न स्थानीय बाध्य थिए । अब भने वर्षौँदेखि भोग्दै आइरहेको समस्या समाधानका लागि अन्त्य भएको निस्दीका स्थानीय यमबहादुर मश्राङ्गीले प्रतिक्रिया दिनुभयो ।
रासस

तपाईको प्रतिक्रिया