विराटनगर, ४ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई व्यावहारिक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद्’ को बैठकमा उहाँले प्रदेश र स्थानीय सरकारबीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीलाई आग्रह गर्दै प्रदेश र स्थानीय दुवै सरकार वित्तीय हिसाबले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “आगामी वर्षदेखि प्रदेश सरकारको अर्थ मन्त्रालयअन्तर्गत राजस्व महाशाखामार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिनेछ ।” उहाँले वित्तीय हस्तान्तरणअन्तर्गत सःशर्तको बजेटमा योजना नभई क्षेत्र मात्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको भन्दै योजना दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभावलगायत विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
बैठकले प्रदेश सरकारको आगामी आव २०८०र०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाँडफाँट, स्थानीय तहका आवधिक योजना निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्य व्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषद्को कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्नेलगायतका विषयमा विभिन्न निर्णय छ । रासस






