काठमाडौँ, २ वैशाख : मकालु प्रकाशन गृहबाट प्रकाशित तीनवटा पुस्तक आज विमोचन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ दूताबासका उपप्रमुख काउन्सिलर वाङ सिनले विमोचन गर्नुभएको भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति गङ्गाप्रसाद उप्रेतीको चक्रब्यूह नेपाली कविता संग्रहको अंग्रेजी अनुवाद ‘एन इम्पेनट्रेबल फोर्टिफिकेसन’, मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक बासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ पुस्तक विमोचन गरिएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यी किताबहरु महत्वपूर्ण भएको बताउनुभयो । ढकालले लेखेको चिनियाँ यात्री फाहियानको यात्रा विवरणले इतिहासदेखिको दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जोड दिएको बताउँदै उप्रेतीका नेपाली कवितालाई अंग्रेजी भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउने काम भएको भन्दै प्रशंसा गर्नुभयो ।
चिनियाँ दूताबासका काउन्सिलर वाङ सिनले यसले चीन र नेपालबीचको सम्बन्धलाई महत्वपूर्ण टेवा पु¥याउने बताउनुभयो । चीनमा सी चिनफिङको नेतृत्वमा भएको प्रगति र चिनियाँ विकास तथा गरिबी निवारणमा भएको प्रगतिलाई आचार्यले नेपाली भाषामा किताबै लेखेर नेपालीहरुलाई राम्रो जानकारी दिएको उहाँले बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति तथा कवि गङ्गाप्रसाद उप्रेतीले आफू कुलपति हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा चीन, भारत, पाकिस्तान, बंगलादेश, इजरायल लगायतका कवि तथा साहित्यकारहरुसँग साक्षत्कार गरेको बताउनुभयो । उहाँले नेपाली कविताको लेखन पद्धति, शैली, प्रस्तुति, भाव कस्तो छ भन्ने जिज्ञासा मेटाउने प्रयासस्वरुप यो कविता सङ्ग्रह अंग्रेजीमा अनुवाद गरिएको बताउनुभयो । रासस