काठमाडौँ, २८ चैत : साहित्यकार धनेन्द्र ओझाको कृति बेग्लै आकाश र प्रमोद प्याकुरेलको खटप्वाल उपन्यास आज लोकार्पण गरिएको छ ।
पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, पूर्वमुख्यसचिव विमल कोइराला, भोजराज घिमिरे, डा कृष्णहरि बराललगायतका श्रष्टाले आज यहाँ आयोजित कार्यक्रममा जीवनी र व्यक्तित्व समेटिएको कृति बेग्लै आकाशकोे संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो ।
कृतिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित पूर्वमुख्यसचिव, सचिव र साहित्यकार गरी १४ जना श्रष्टाको जीवनी र व्यक्तित्व समेटिएको छ ।
यसैगरी प्रमोद प्याकुरेलको उपन्यास खटप्वालको साहित्यकार रमा शर्मा र गीतकार यादव खरेलले लोकार्पण गर्नुभयो । खटप्वालमा समाजमा हुने विविध घटनालाई यथार्थ रुपमा चित्रण गरिएको पुस्तकका समीक्षक डा अशोक थापाले बताउनुभयो । यसअघि प्याकुरेलको झुल्या कागज नामक कथा सङ्ग्रह प्रकाशित भइसकेको छ ।
पेज कर्नर प्रकाशन प्रालिको वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रमा साहित्यिक अनलाइन पोर्टल निरुपण डक कम र अङ्ग्रेजी बाल पत्रिकाको अनलाइन पोर्टलको समेत शुभारम्भ गरिएको छ । अनलाइन बाल पत्रिकामा बालबालिकाका लागि लक्षित गरेर र विषयवस्तु समावेश गरिने र यो नेपालको पहिलो अनलाइन बाल पत्रिका रहेको प्रकाशनका अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो । रासस