महोत्तरी, २६ चैत : इस्लाम धर्मावलम्बीको पवित्र रमजान रोजासँगै यहाँका बस्तीमा इदको चहलपहल बढेको छ । रमजानभरि एकमहिने रोजा ९व्रत० गरिरहेका इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिलेदेखि नै इदको चहलपहल बढेको हो । ऊर्दू पात्रो हिजरी सम्वत्० अनुसार रमजान महिना सकिनासाथ सुरु हुने सब्वाल महिनाको एक तारिखका दिन इद मनाउने इस्लाम परम्परा छ । अहिले रमजान सुरु भएको दुई साता बितेको छ ।
“रमजान र इद जोडिएकै कुरा हुन्, रमजानको रोजा ९व्रत० सकिएको भोलिपल्ट इद ९इद–उल–फित्र० मनाइने त हो”, बर्दिबास–१ का इस्माइल चुरौटे भन्नुहुन्छ, “त्यसैले हाम्रो घरपरिवारमा इदको सोधखोज र तयारी सुरु भएको छ ।” इद इस्लाम परम्पराको मुख्य पर्व भएको हुँदा यसको तयारी केही साता पहिले नै सुरु हुने मुसलमान ९इस्लाम धर्मावलम्बी० बताउँछन् । बोलीचालीमा ‘इद’ भनिने इद–उल–फित्र इस्लाम परम्पराको मुख्य पर्व हो ।
मुस्लिम गृहिणी रमजान रोेजा ९व्रत०कै बीच अहिले गहुँको पिठो मुछेर घरघरैजसो ‘सेवइ’ ९मुछिएको पिठो सानो फलामेयन्त्रमा पेलेर सिन्काजस्तो बनाएर निकालिने खाद्य वस्तु० बनाउन व्यस्त छन् । दूधमा पकाइएको सेवइ इद पर्वको खास परिकार मानिन्छ । यसरी पेलेर बनाइएको सेवइ केही दिन सुकाइएपछि दूधमा पकाउन मिल्छ । इद मुसलमानका लागि ‘जकात’ ९कमाइको साढे दुई प्रतिशत नगद वा जिन्सी गरिब दुखीलाई बाँड्न छुट्याइएको रकम० को बेला पनि हो ।
रमजानको रोजा गरिरहेकै बेला मुसलमान ‘जकात’ का लागि रकम छुट्याउन थाल्छन् । इद परिवारका सबै सदस्य, नाताकुटुम्ब र गरिब दुःखीका लागि नयाँ लुगा फेर्ने फेराउने अवसर पनि भएको हुँदा आम मुसलमान पहिलेदेखि नै यसको तयारीमा लाग्छन् । “अब दुई साता त बाँकी छ रमजान, रमजान सकिएको भोलिपल्ट नै इद मनाउने हो”, तन्मयसाथ सेवइ बनाइरहेकी बलवा–९ अधियानपुरकी सकिला खातुन भन्नुहुन्छ, “त्यसैले घरघरैजसो इदको तयारी गरिँदैछ ।”
रमजानभित्रै अहिले मुस्लिम ९मुसलमान, इस्लाम धर्मावलम्बी० बसोबास बाहुल्यताका बस्तीमा इदको चर्चा छ । बाहिर रहेका परिवारजन इदका अवसरमा बिदा मिलाएर घर आउने परिवारजनको पर्खाइ छ । “अरु त घरै छौँ, सनिउल्लाह ९छोरा० विदेश छ, तर यसपालि ऊ बिदा मिलाएर घर आउने कुरा छ”, सउदीअरेबिया रहेका छोरा परिवारजनसँगै इद मनाउन आउने कुराले प्रफुल्ल देखिने भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम कवारी भन्नुहुन्छ, “अल्लाह ९ईश्वर, भगवान्० को मर्जी ९कृपा० रहे यसपालि परिवारका सबै सदस्य इदमा सँगै हुनेछौँ ।”
आफ्नो परिवारमा तीन वर्षपछि यस्तो सुखद अवसर मिल्न लागेको इस्लाम बताउनुहुन्छ । इद यसपालि आउने वैशाखको दोस्रो साताको सुरु ९वैशाख ९ वा १०० मै पर्दैछ । चन्द्र दर्शनसँग इद जोडिने हुँदा एक दिन तलमाथि पर्नसक्ने इस्लाम धर्मावलम्बी बताउँछन् । जिल्लामा सम्सी, लोहारपट्टी, जलेश्वर, बलवा, मटिहानी, भङ्गाहा, रामगोपालपुर र बर्दिबाससहितका स्थानीय तहका अधिकांश बस्तीमा सघन मुस्लिम बसोबास छ । यी स्थानीय तहका मुस्लिम बाहुल्य बस्तीमा अहिले इद केन्द्रित तयारी र चर्चा सुनिन्छ ।
बर्दिबासका अधिकांश मुसलमान नेपाली भाषी र अन्य ठाउँका मैथिली तथा ऊर्दू भाषी भए पनि इद पर्वको परम्परा भने समान छ । “वरपर रहेका हामी सबैसँगै मस्जिद ९प्रार्थनाघर०मा नमाज पढ्छौँ, सँगै पर्वको खुसी मनाउँछौँ”, बर्दिबास–१४ का नेपाली भाषी साविर चुरौटे भन्नुहुन्छ, “अल्लाहले सबैलाई हेरी रहनुहुन्छ, कसैसँग वैरभाव राख्न हुँदैन ।” मुसलमान मात्र नभएर संसारभरिका सबै मानवजाति र प्राणीप्रति करुणा राख्नुपर्ने रमजान ९पवित्र महिना० र इदको मूल सन्देश रहेको साविर बताउनुहुन्छ ।
रमजान मानवीय करुणा उजागर गराउन, परोपकारमा उद्दत गराउन र सद्आचरणमा रहन प्रेरित गराउने पवित्र महिना मानिन्छ । यसै महिनामा पृथ्वीमा पवित्र ग्रन्थ कुरान अवतरित भएको मुसलमान मान्दछन् । त्यसैले आम मुसलमान एक महिनाभर सद्आचरणमा रही रोजा गर्छन् । ‘सूद’ ९ब्याज० लिनु÷खानुलाई इस्लाम परम्पराले ‘हराम’ ९महापाप० मान्दछ । दानको प्रचार पनि इस्लाममा वर्जित छ । “कुनै दिनदुःखी वा अन्य कसैलाई गरिने सहयोग दिने÷लिनेबाहेक अरु कसैले थाहा पाउनु हुँदैन”, भङ्गाहा–४ का ८५ वर्षीय हाजी ९मक्का मदिना गएर खास धार्मिक अनुष्ठान पूरा गरेका मुसलमानको उपाधि० विहारी अन्सारी भन्नुहुन्छ, “रमजान कुरान पढ्ने, सुन्ने र जीवनमा त्यसलाई ढाल्न अभ्यास गर्ने खास अवसर हो ।”
रमजानभर सद्आचरणमा रहने अरुबेला जेगरे पनि हुने भन्ने नभई बर्सेनि एक महिना आपूmलाई सत्कर्म र सद्आचरणमा रहिरहन अभ्यास गराउने, सम्झाउने र सचेत गराउने अवसर रहेको पाका मुसलमान बताउँछन् । ‘इद’ यिनै गुणयुक्त मानव भएको खुसी व्यक्त गर्ने पर्व हो । इदमा लगाइने नयाँ लुगा प्रायःसेतो प्रयोग गरिन्छ । त्यसलाई जीवनसँग गाँसेर कहिल्यै दाग नलागोस् भन्ने हेक्का गरिन पर्ने बलवा–१० धमौराका ८० वर्षीय हासिम कवारीको भनाइ छ । रासस






