दोधारा चाँदनी, २५ चैत : कञ्चनपुरको दोधारा चाँदनीस्थित जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्धारका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले राष्ट्रिय समाज कल्याण सङ्घ र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा बाढीबाट बच्ने उपाय र खोज उद्धार नमूना अभ्यास प्रदर्शन गरेको हो । सीमा सुरक्षा गुल्म देवीस्थानको तालिमप्राप्त टोलीले विपद्का बेला घर वरपरिका सरसामान प्रयोग गरेर पनि बाढीबाट बच्न सक्ने जनाउँदै जोगबुढा नदीमा नमूना अभ्याससमेत प्रदर्शन गरेको हो । बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिमप्राप्त टोलीद्वारा नमूना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका कार्यक्रम संयोजक साजकुमार सुनारले बाढीको जोखिम रहेको समुदायमा पूर्वतयारी र बाढीबाट बच्ने उपायका बारेमा नमूना अभ्यास गरी स्थानीयलाई जानकारी दिएको बताउनुभयो । “बाढी आइहाले पनि सुरक्षित स्थानमा कसरी जाने, आवश्यक सामग्री कसरी जोगाउने भन्ने विषयमा सशस्त्र प्रहरीको तामिमप्राप्त टोलीद्वारा नदीमा अभ्यास गरेर देखाइएको हो ।” उहाँले भन्नुभयो, “यसले जोखिमयुक्त क्षेत्रका नागरिलाई सहयोग पुग्नेछ ।” उहाँले भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका जोखिमयुक्त क्षेत्रमा नमूना अभ्यास गराउन लागेको बताउनुभयो ।
दोधारा चाँदनी नगरपािलकाका प्रमुख किशोर लिम्बूले बाढीबाट बच्नका लागि सशस्त्र प्रहरीले प्रदर्शनबाट स्थानीयले पनि सिक्ने अवसर पाएको बताउनुभयो । “नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो”, उहाँले भन्नुभयो, “यसले विपद्का बेला आफू कसरी बच्न सकिन्छ भन्ने जानकारी पाएका छन् ।”
दोधारा चाँदनी नगरपालिका–९ का स्थानीय आकृति कसेराले प्रयोगात्मकरूपमा देखाइएको अभ्यासले थुप्रै कुरा जानकारी पाएको बताउनुभयो । “हामीले हामै्र घरवरपर रहेका खाली बोतल, केराको खम्बालगायतका वस्तुबाट पनि नदी तर्न सकिने कुरा थाहा पायौँ”, उहाँले भन्नुभयो, “उद्धारका लागि स्टेचर बनाउनेदेखि सबै कुरा थाहा पाएका छौँ ।” तीनतर्फ जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरिएको दोधारा चाँदनी बाढीको उच्च जोखिममा पर्छ । यसरी गरिने कृत्रिम पूर्वाभ्यासले खोज तथा उद्धार, प्राथमिक उपचार, र आपत्कालीन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्ने भएकाले यस्ता कार्यक्रम समुदायसम्म गर्नुुपर्ने स्थानीयको माग छ । रासस






