बेइजिङ, २१ चैत : चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलबार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गर्नुभएको छ । सो अवसरमा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगको लागि चीन र रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वय उच्च स्तरमा विकास भएको बताउनुभएको छ।
चीन-रूस सम्बन्ध असंलग्नता, गैर टकराव र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने, पारस्परिक सम्मान, आपसी विश्वास र पारस्परिक लाभका सिद्धान्तहरू पालना गर्दै दुई देशको आफ्नै विकास र पुनरुत्थान मात्र नभई अन्तरराष्ट्रिय निष्पक्षता र समर्थनलाई पनि समर्थन गर्ने उहाँले बताउँनु भयो।
यसैगरी प्रधानमन्त्री लीले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त रूपमा द्विपक्षीय सम्बन्धको विकासको नयाँ खाका तयार गरेको कुरामा जोड दिनुभयो।
चीन रुससँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै उहाँले दुई देशका सरकारी विभागहरूले दुई राष्ट्र प्रमुखले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै नयाँ विकास हासिल गर्न चीन र रुसबीचको व्यावहारिक सहयोगलाई अगाडि बढाउनु पर्ने बताउनुभएको छ ।
आफ्नो तर्फबाट मिशुस्टिनले रुस–चीन सम्बन्ध अन्तरराष्ट्रिय कानून र बहुलवादको सिद्धान्तमा आधारित रहेको र विश्व शान्ति र स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण कारक रहेको भन्दै वर्तमानमा द्विपक्षीय सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताउनुभयो । राष्ट्रपति सीको रुसको राजकीय भ्रमण पूर्णतया सफल रहेको र रुस-चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात भएको उहाँको टिप्पणी छ ।
रुसले चीनसँगको समन्वयको व्यापक रणनीतिक साझेदारीको कदर गर्ने र चीनसँग असल छिमेकी मित्रतालाई सुदृढ गर्नका निम्ति विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र दुई देशको साझा विकासमा जोड दिन इच्छुक रहेको उहाँले बताउनुभयो। रासस-सिन्ह्वा






