डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

  चैत २०, २०७९

बैतडी, २० चैत : बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । उहाँका अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै विभिन्न परीक्षण, औषधि तथा परामर्श सेवा प्रदान गरिने छ ।

अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

यसअघि गत फागुनमा जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएकोे ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट एक हजार बढी नागरिक लाभान्वित भएका थिए । रासस

तपाईको प्रतिक्रिया