‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

  चैत २०, २०७९

दोधारा चाँदनी, २० चैत : कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिनुभयो ।

भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उहाँले बताउनुभयो । “खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन”, उहाँले भन्नुभयो, “अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं ।”

अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ  । कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने सङ्ख्या न्यून रहेको बताउनुभयो । “हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ ।” उहाँले भन्नुभयो–“शनिवारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन यो न्यून हो”, उहाँले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले सङ्ख्या बढ्न सक्ने बताउनुभयो । “हामीले गाउँगाउँमा माइकिङसमेत गरेका हौँ”, उहाँले भन्नुभयो, “यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए ।”

भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको सङ्ख्या धेरै कम रहेको बताउनुभयो । “पहिलो पटक खोप लगाउँदा भ्याइनभ्याइ थियो अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको सङ्ख्या न्यून छ ।”

कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ । कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन । जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । रासस

तपाईको प्रतिक्रिया