मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै

  चैत १९, २०७९

दोधारा चाँदनी, १९ चैत : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ ।

सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो ।

“मध्यम जोखिम भएका क्षेत्रका झुल वितरण गरेका छौँ”, भट्टले भन्नुभयो, “सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यले काम भइरहेको छ ।” त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ ।

कञ्चनपुरमा चालु आर्थिक वर्षमा २१ मलेरियाका बिरामी फेला परेका छन् । तीमध्ये १६ बाहिरबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको भट्टले बताउनुभयो । त्यसमध्ये छ जनामा कडा खाले मलेरिया देखिएको छ भने अन्य १४ मा कम कडा भएको मलेरिया देखिएको निरीक्षक भट्टले बताउनुभयो ।

“जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो मलेरिया देखिने गरेको छ”, उहाँले भन्नुभयो, “पछिल्ला वर्षको तथ्याङ्क हेर्दा जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विबक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखा परेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया