पोप फ्रान्सिसको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फिर्ता

  चैत १८, २०७९

रोम, १८ चैत : श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।

क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उहाँले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताउनुभएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना भएका ८६ वर्षीय धर्मगुरु कारबाट ओर्लेर मुस्कुराउदै आफ्नो स्वास्थ्यमा सुधार आएको बताउनुभउको थियो । फ्रान्सिसले अब क्रिश्चियन क्यालेन्डरको सबैभन्दा महत्वपूर्ण हप्ता पवित्र सप्ताह र इस्टरको तयारी सुरु गर्नुहुनेछ ।

सेन्ट पिटर स्क्वायरमा बुधबार आयोजित धार्मिक सभापछि पोपले आफुलाई अस्वस्थ महसुस गर्नुभएको थियो तर अस्पतालको बसाईमा उहाँलाई एन्टिबायोटिक दिएपछि स्वास्थ्यमा छिट्टै सुधार आएको होे ।

पोपले शनिबार सेन्ट पिटर्स स्क्वायरमा ‘पाम सन्डे मास’को अध्यक्षता गर्ने बताउनुभएको छ । रासस-एएफपी

तपाईको प्रतिक्रिया