आफ्नै बाबुबाट बलात्कृत १३ वर्षीया गर्भवती बालिका न्यायको खोजीमा

  चैत १८, २०७९

बर्दिबास, १८ चैत : के जन्म दिने बाबुले आफ्नै छोरीलाई बलात्कार गर्न सक्छ रु सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो । यहाँका एक बुवाले आफ्नै १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएका छन् । बुवा हाल फरार भएका छन् । वडा कार्यालयको जन्म दर्ता अनुसार बालिकाको जन्म २०६६ माघ २० गते हो ।

विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएका हो । बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो । आमाका अनुसार नाबालक छोरीले वाकवाकी गर्ने, जे पनि गन्हाउने जस्ता लक्षण बढ्दै गएपछि गर्भ रहेको शङ्का लागेको थियो । तीन चार महिनादेखि महिनावारी पनि रोकिएकोले झनै चिसो पसेको उहाँले बताउनुभयो । ‘कसको गर्भ हो भनी जति सोध्दा पनि केही दिन बोल्दै बोलिन, धेरै केरकार गरेपछि बल्लबल्ल ‘बुवाको हो’ भनेर रहस्य खोली’ की थिइन ।

आमा माइत गएको समय बुवाले छोरीमाथि बलात्कार गरेको थियो । स्थानीयवासीले घटनाप्रति प्रहरी प्रशासन र न्यायिक निकायलाई गम्भीर हुन आग्रह गरेको छ । आफ्नो पीडक बाबुमाथि हदैसम्मको कारबाही गर्न पीडित बालिकाको माग छ ।

प्रहरी नायब उपरीक्षक विजय यादवले पीडित वालिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको बताउनुभयो । (गोरखापत्र)

तपाईको प्रतिक्रिया