भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

  चैत १७, २०७९

जेनेभा, १७ चैत : टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको शुक्रबार जनाएको छ ।

टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्यसंयुक्त राष्ट्रसङ्घले राखेको छ ।

गत फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपिलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताउनुभएको छ ।

“अब हामी मानवीय आपतकालीन चरणमा संलग्न छौं, जहाँ हामी बाँचेकाहरूलाई के चाहिन्छ भनेर हेर्छौं,” उहाँले भन्नुभयो ।

गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसङ्घले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपिल गरेको थियो ।

संयुक्त राज्य अमेरिका, कुवेत, युरोपेली आयोग, संयुक्त राष्ट्रसङ्घको आपतकालीन कोष सीईआरएफ र साउदी अरब हाल शीर्ष पाँच दाताहरू हुन् ।

लार्र्कका अनुसार संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय निकायले ४१ लाखभन्दा बढी मानिसलाई आधारभूत घरायसी सामग्री र लत्ताकपडा उपलब्ध गराएका छन् । तीमध्ये करिब ३० लाखलाई आपतकालीन खाद्य सहायता प्रदान गरिएको छ र १।६ मिलियनले पानी, सरसफाइ र स्वच्छता सहायता प्राप्त गरेका छन् ।

ईयूले यसै महिनाको सुरुमा ब्रसेल्समा पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न एक सम्मेलनको आयोजना गरेको थियो ।

दाताहरूले टर्की र सिरियाको पुनः स्थापनामा सहयोग गर्न सात अर्ब युरोको वचन दिएका छन्, यद्यपि अङ्काराले पुनर्निर्माणको लागि १० गुणा भन्दा बढीको बिल निर्धारण गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सिरियालाई पहिलो तीन महिनामा पीडितलाई सहयोग गर्न आग्रह गरेको छ, जसले अनुरोध गरिएको ३९ करोड ८० लाख अमेरिकी डलरमध्ये ३६ करोड ४० लाख अमेरिकी डलर जुटाइसकेको छ ।

टर्कीबाट उत्तरी सिरियामा हालसम्म एक हजार १७७ संयुक्त राष्ट्रसंघीय राहत ट्रक भित्रिएका छन् ।

लार्कले भन्नुभयो, “गत महिनादेखि हामी र हाम्रा साझेदारहरूले करिब एक लाख मानिसलाई टेन्टलगायत आश्रय स्थल उपलब्ध गराएका छौं । साझेदारहरूले प्रभावित क्षेत्रका मानिसहरूलाई आठ लाख ५० हजारभन्दा बढी तयारी खाद्य सामान र १० लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् ।” रासस-एएफपी

तपाईको प्रतिक्रिया