प्राविधिक जनशक्ति पेसामा पछाडि

  चैत १५, २०७९

काठमाडौँ, १५ चैत  : पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन।

नेपाल इन्जिनियर काउन्सिलले सञ्चालन गरेको इन्जिनियर व्यवसाय नाम दर्तासम्बन्धी परीक्षाको नतिजाले झन् निराशा थपेको छ। यसअघि नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजा पनि निकै कमजोर हुने गरेको छ।

इन्जिनियर काउन्सिलले सार्वजनिक गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २८।५२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार परीक्षामा एक हजार ९८१ जना सहभागी थिए। जसमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार शिवमङ्गल गिरीले जानकारी दिनुभयो। इन्जिनियरका लागि व्यवसाय नाम दर्तासम्बन्धी परीक्षा सञ्चालन गरिएको यो पहिलो पटक हो।

त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण गरेर काउन्सिलको परीक्षामा सहभागी भएका सय जनामध्ये ४६ जना उत्तीर्ण भएका छन्। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट सहभागी भएका ४७१ जनामध्ये १४१ जना उत्तीर्ण भएका छन्। जुन कुल सहभागीको २९।९ प्रतिशत हो।

त्यस्तै पोखरा विश्वविद्यालयतर्फबाट सहभागी भएका एक हजार १३ जनामध्ये ३११ जना अर्थात् ३०।७ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। तर औसतमा पहिलो परीक्षामा झन्डै ७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि काउन्सिल पनि चिन्तित बनेको छ। रजिस्ट्रार गिरीले भन्नुभयो, “नतिजा सोचेजस्तो भएन। यसको मुख्य कारण कोभिडको समयमा विद्यार्थीको पढाइ राम्रोसँग सञ्चालन हुन नसक्नु हो जस्तो लाग्छ।”

त्यसबाहेक अहिलेको परीक्षामा सहभागी भएकामध्ये अधिकांश परीक्षार्थी आंशिकतर्फका हुनु र परीक्षार्थी इन्जिनियर विदेशी विश्वविद्यालयबाट पढेर आएका पनि भएकाले नतिजा सोचेजस्तो नआउनुको अर्को कारण हुन सक्ने काउन्सिलको अनुमान छ। काउन्सिलले कुल २० वटा विधाका इन्जिनियरिङ विषयको परीक्षा सञ्चालन गरेको थियो। जसमध्ये सबैभन्दा धेरै सिभिल इन्जिनियरिङतर्फ एक हजार १५३ तथा सबैभन्दा थोरै इन्भाइरोन्मेन्टल, इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ, माइनिङ इन्जिनियरिङ र मेकाट्रोनिक्स इन्जिनियरिङ विधामा एक–एक जना सहभागी भएका थिए।

इन्जिनियरिङ मात्र होइन, नेपाल मेडिकल काउन्सिलले सञ्चालन गर्ने चिकित्सक दर्ता प्रमाणपत्रसम्बन्धी परीक्षा तथा नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गर्ने नर्सिङ मेडिकल काउन्सिलले गत माघमा सार्वजनिक गरेको अनुमतिपत्रसम्बन्धी पछिल्लो परीक्षाको नतिजामा ४७।२१ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए। विगतका वर्षको नतिजामा पनि ५० प्रतिशतभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण हुने गरेका थिए।

त्यस्तै नेपाल नर्सिङ परिषद्को नर्सिङ लाइसेन्स परीक्षाको नतिजा झन् मेडिकल काउन्सिलभन्दा पनि कमजोर देखिएको छ। काउन्सिलले चैत ४ गते सार्वजनिक गरेको परीक्षामा सहभागीमध्ये प्रमाणपत्र ९पीसीएल०तर्फ जम्मा २६।१ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। सोही दिन सार्वजनिक भएको नतिजाअनुसार बीएस्सी नर्सिङतर्फ भने ४१।९ प्रतिशत उत्तीर्ण भएका थिए। यस्तो परीक्षामा अनुत्तीर्णहरू कुनै पनि पेसा तथा व्यवसायमा जोडिन पाउँदैनन्।गोरखापत्रबाट

 

तपाईको प्रतिक्रिया