सेना र हुथी विद्रोहीबीचको भिडन्तमा ११ जनाको मृत्यु

  चैत १४, २०७९

एडेन, १४ चैत : यमनको दक्षिणी प्रान्त लाहजमा यमनी सरकारी सेना र हुथी विद्रोहीबीच मङ्गलबार बिहान भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

“सरकार नियन्त्रित प्रान्त लाहजको अलकार्ब क्षेत्र वरपर थुप्रै सशस्त्र हुथी आक्रमणकारीहरू र सरकारको चौथो ब्रिगेडका सिपाहीहरू बीच भीषण झडप भयो,” स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने शर्तमा भनेका छन् । झडपमा छ हुथी लडाकु र पाँच सरकारी सैनिकको मृत्यु भएको बताइएको छ । घटनाबाट नजिकैका गाउँहरूमा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाहरूलाई घरबारविहिन बनाएको छ ।

झडपपछि स्थानीय सरकारी अधिकारीहरूले आफ्ना सेनाहरूलाई सतर्क रहन र यमनी सरकारको अस्थायी राजधानी एडेन नजिकै रहेको लाहजमा हुथीहरूको आक्रमणलाई रोक्न आदेश दिएका छन् । यसैबीच अन्तरराष्ट्रिय समुदायको आह्वानका बाबजुद पनि हुथीहरूले सरकार नियन्त्रित प्रान्तहरूमा आफ्नो भूमिगत सैन्य आक्रमण जारी राखेका छन्।
मारिब र शाब्वाको तेल सम्पन्न प्रान्तहरूमा हुथी आक्रमणको सङ्ख्यामा बृद्धि भएपछि यमनको सरकारले शुक्रबार युद्धग्रस्त अरब देशमा पूर्ण मात्रामा सैन्य द्वन्द्वमा फर्किने सम्भावित चेतावनी दिएको छ । गत वर्ष अप्रिलमा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको युद्धविराम छ महिनापछि समाप्त भएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटपुट सशस्त्र टकराव बेहोरिरहेको छ।

सन् २०१४ देखि यमन विनाशकारी गृहयुद्धमा फसेको छ । हुथीहरूले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार र यसको सहयोगीहरू, (जसमा साउदी अरेबियाको नेतृत्वमा गठबन्धन बनेको छ) विरुद्ध लडिरहेको छन्। रासस-सिन्ह्वा

तपाईको प्रतिक्रिया